Menu


.


तपाईं वा तपाईंका बालबालिकाको दाँत कीराले खाने गरेको छ ? दाँतमा कीरा लाग्नु अधिकांश नेपालीको समस्या हो । तथ्यांक अनुसार नेपालका १ सयमध्ये ६३ बालबालिकाको दाँत कीराले खाएको छ । १ सयमध्ये ५७ जना वयस्क नेपालीलाई समेत यो समस्याले पिरोलेको छ । तर यो तथ्यांक सात वर्षअघिको हो । अहिले यो संख्या निश्चित रूपमा अझै बढेको छ ।

यसको सामान्य उदाहरण भारतमा हालै गरिएको सर्वेक्षणको आरम्भिक नतिजाले देखाएको छ । भारतका ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयस्क दाँतसम्बन्धी कुनै न कुनै समस्याले ग्रस्त छन् । सहरी क्षेत्रका बासिन्दालाई दाँतमा कीरा लाग्ने समस्याले हैरान पारेको छ भने ग्रामीण क्षेत्रमा गिजाको समस्याले दुःख दिने गरेको छ ।

'दन्त स्वास्थ्यको परिप्रेक्ष्यमा नेपाल र भारतको स्थिति उस्तै छ,' प्राडा. प्रवीण मिश्र भन्छन्, 'दाँतमा कीरा लाग्नु हाम्रो मुलुकको समेत प्रमुख समस्यामध्ये एक हो ।'

सहरिया बासिन्दाका दाँतमा कीरा लाग्नुको मुख्य कारण हो, फास्ट फुडको बढ्दो प्रचलन । फास्ट फुडका कण दाँतमा गएर टाँसिन्छन्, कीटाणु उत्पन्न हुन्छ, अनि दाँतमा क्षति पुग्न थाल्छ ।

डा. मिश्रका अनुसार खानपान र दाँतको सफाइप्रतिको लापरबाहीले समस्या उत्पन्न गरिरहेको छ । थुप्रै वयस्क र बालबालिका दाँतमा क्यारिज (कीरा लाग्नु) को चपेटामा फसिरहेका छन् । 'हाम्रो मुलुकमा दाँतको सरसफाइप्रति लापरबाही नै कीरा लाग्ने मुख्य कारण हो,' उनी भन्छन् । दाँत सफा नराख्नाले मुखमा अन्न कण बाँकी रहन्छन् । यसले गर्दा ब्याक्टेरिया बढ्दै जान्छन् र ल्याक्टिक एसिड बन्छ । यो अम्लले दाँतको बलियो खोल अर्थात् इनामेल क्षय गर्दै बिस्तारै प्वाल बनाउँछ ।

दाँतमा प्वाल हुनुको मुख्य कारण हो मुखमा बन्ने अम्ल । खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण (मुख्यतः गुलियो र स्टार्च) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ ।

ब्याक्टेरियाका कारण उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर टाँसिने पदार्थ (प्लाक) बनाउँछ । प्लाक दाँतमा टाँसिन्छ । धेरै दिनसम्म दाँतको सफाइ नभए प्लाक कडा भएर टार्टर बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । डा. मिश्रका अनुसार प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाएपछि यसैलाई दाँतमा कीरा लाग्नु

भनिन्छ ।

दाँतमा कीरा लाग्नबाट बच्ने मुख्य उपाय भने बिहान जस्तै राति सुत्ने बेलामा समेत राम्ररी ब्रस गर्नु हो । गुलियो र स्टार्चजस्ता वस्तुको कम सेवन गर्नुको साथै यस्ता खाद्य पदार्थ सेवन गरेपछि अनिवार्य रूपमा कुल्ला वा ब्रस गर्नुपर्छ ।

दाँतमा कालो खैरो दाग देखिन थाले, दाँतमा खाना अडकन थाले, चिसो वा तातो खाँदा दाँत सिरिङ्ङ गर्न थाले दाँत प्वाल परेको हुन सक्छ । 'यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ पुग्नुपर्छ,' मिश्र भन्छन् । सुरुवाती चरणमै ध्यान दिँदा दाँतमा प्वाल पर्न रोकिन सक्छ ।

दाँतमा पीडा हुन थाल्यो भने तत्कालका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल, एस्पि्रन, इबो ब्रुफेन जस्ता पेनकिलर टयाबलेट लिन सकिन्छ । ल्वाङको तेल प्वालमा लगाउनाले समेत तत्कालका लागि आराम पाउन सकिन्छ । यसपछि दन्त चिकित्सकको सल्लाहमा दाँतको प्वाल भर्नु (फिलिङ गर्नु) पर्छ ।

फिलिङ नगराउँदा दाँतमा चिसो, तातो, गुलियो, अमिलो पर्दा चस्का लाग्ने गर्छ । दाँतमा पीडा हुनुका साथै पिप बन्छ । पछि दाँत बिग्रँदै गएर रुट क्यानल टि्रटमेन्टसम्म गराउनुपर्न सक्ने उल्लेख गर्दै डा. मिश्र भन्छन्, 'जति छिटो प्वाल भर्‍यो, त्यति राम्रो ।'

दाँत भर्ने प्रक्रियाअन्तर्गत अस्थायी फिलिङसमेत गरिन्छ । दाँतमा गहिरो प्वाल हँुदा यो प्रक्रिया अपनाइन्छ । पछि दुखाइ र संवेदनशीलता नहँुदा स्थायी फिलिङ गरिन्छ । स्थायी फिलिङअन्तर्गत विभिन्न प्रकारको दाँत भर्ने प्रक्रिया अपनाइए पनि मुख्य रूपमा भने सिल्भर फिलिङसमेत एउटा हो । फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न । २४ घन्टापछि मात्रै फिलिङ गरिएको दाँतले चपाउन सकिन्छ । यस्तो फिलिङ अन्य फिलिङको दाँजोमा बढी सस्तो र बलियो हुन्छ ।

दाँत भर्न कम्पोजिट फिलिङसमेत गरिन्छ । यसलाई कस्मेटिक र टुथ कलर फिलिङसमेत भनिन्छ । यस्तो फिलिङ गराइएको लगत्तै खाने कुरा लिन सकिन्छ । यस्तो फिलिङ दाँतको रङको हुने भएकाले उपचार गरेको अरूलाई सहजै थाहा हुँदैन । यो बढी टिक्छ पनि । अब नौलो प्रविधिका सामान आउनाले यो फिलिङ अझ बलियो भएको छ । तर यो फिलिङ गराउँदा ताका दाँत सुख्खा हुनुपर्छ । नत्र दाँतमा भर्ने पदार्थ निस्किने डर हुन्छ । बालबालिकामा यो फिलिङ गरिँदैन ।

दाँत भर्ने अर्को प्रक्रिया जिआई फिलिङसमेत हो । जिआई फिलिङको पूरा नाम ग्लास इनोमर सिमेन्ट फिलिङ हो । यो प्रायः बालबालिका वा वयस्क व्यक्तिको संवेदनशील दाँतमा गरिन्छ । यसमा सिलिका हुनुको साथै यो हलुको हुन्छ । यसैले चपाउने दाँतमा यो फिलिङ गरिँदैन । फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न । यसमा भएको पmलोराइडले पछि कीरा लाग्नबाट रोक्छ । यसैले यसलाई पि्रजरभेटिभ फिलिङ समेत भनिन्छ । यो सेतो भए पनि दाँतको रंगजस्तै नदेखिने भएकाले राम्रो देखिँदैन । सबै दाँतमा यो फिलिङ गर्न सकिँदैन । चपाउने र अगाडिको दाँतमा यसको उपयोग गरिँदैन, किनभने यो त्यति बलियो हँुदैन । यो फिलिङ अचेल दाँतको रंगमा समेत आउन थालेको छ ।

फिलिङ गराउँदा कतिपय समय दाँत संवेदनशील भइहाल्छन् । चिसो, तातो सहजै अनुभव हुन थाले पनि केही समयपछि यो आफैं हराउँछ । निको नभए दन्त चिकित्सकलाई देखाउनुपर्छ । फिलिङ गराएपछि कीरा लाग्दैन, तर कहिलेकहिले लिकेज भएर फिलिङको तलबाटै कीरा लाग्न सुरु हुन्छ । प्रत्येक ६ महिनामा फिलिङ जचाउनुपर्छ ।
साभार - इ. कान्तिपुर

0 comments:

Post a Comment

 
Top