Menu


.

राजेन्द्र न्यौपाने असार १५ गोरखा।
मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिईने असार महिनाको आज १५ गते आठौं धान दिवस गोरखामा पनि मनकामना गाउँ विकास समितिको कानटारमा रोपाई कार्यक्रम सम्पन्न भएको छ । ६ हल गोरु नारेर गरिएको रोपाईँ कार्याक्रमा स्थानीय विकास अधिकारी तिलक पौडेल,बरिष्ठ कृषि विकास अधिकृत बुद्धि बहादुर थापा, अखिल नेपाल किसान महासंघ(२००७) गोरखाका अध्यक्ष पुष्पराज दाहाल,नेपाल किसान संघका अध्यक्ष बासुदेव भट्ट,अखिल नेपाल किसान महासंघका अध्यक्ष विपिनचन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

असार पन्ध्रको दिनमा धान लगाउँदा राम्रो हुने जनविश्वास रहि आएको छ । गोरखाका १७ हजार सात सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि प्रचारप्रसार अधिकृत राजेश गुरुङले जानकारी दिनुभयो ।

गोरखाका धान खेती योग्य जमिनहरुमा हदिर्ना, सावित्री, खुमल, मकामनपुरे १, मकवानपुरे २, आँपझुत्ते लगायतका धानको खेती गर्ने चलन रहेको छ । गोरखा जिल्लाका फाँटहरुमा आजसम्म २० प्रतिशत जमिनमा धान खेती भएको जिल्ला कृषि विकास कार्यालय गोरखाका बरिष्ठ कृषि विकास अधिकृत बुद्धि बहादुर थापाले बताउनुभयो । पहाडी भूगोल भएपनि २.९५ प्रति हेक्टर उत्पादकत्व रहेको र गत वर्ष ४९ हजार दुईसय ७५ मेट्रीक टन धान उत्पादन भएको कृषि प्रचारप्रसार अधिकृत गूरुङले जानकारी दिनुभयो । गोरखा जिल्लाका धानफाँटहरुमा भदौ महिनाको पहिलो सातासम्म धान खेती लगाएर सक्ने परम्परा रहेको छ ।

असारमा लगाइएका धान दशैं अगाडि गोडमेल गरिन्छ भने भदौमा लगाइएका धानवाली तिहारको आसपासमा गोडमेल गर्ने चलन रहेको छ । आज असार पन्ध्रको सु– अवसर पारेर गरिएको धान रोपाईं कार्यक्रममा मनकामना वडा नं. ६ स्थित कानाटारमा किसानहरु कार्यालय प्रमुखसँग हिलोछ्यापछ्याप गरि रमाइलो गरेका थिए । कार्यक्रम जिल्ला कृषि विकास कार्यालय गोरखाको आयोजनामा सम्पन्न भएको हो । कानाटार भूतले विराएको जमिन हो भन्ने जनविश्वास समेत रहि आएको छ ।

0 comments:

Post a Comment

 
Top