Menu


.




बिना तामाङ'सुनगाभा'
काठमाण्डौं



धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् ।
झन राम्री पो देखें साथमा लगभग ७ वर्ष जतिको चन्ञ्चले छोरो पनि थियो । त्यो देख्दा मन एकतमासको हुनपुगेको थियो ।कता कता खल्लो मशसुस गर्दै थिएं । उनलाई भेट्न पाउँदा भने खुसीले भुईँमा खुट्टा थिएन ।

यतिका वर्ष पछि उ भेट्दा पनि उस्तै रुप , रङ्ग ,हिडाँई, देखेर म अचम्ममै पो भएं त। गोरी, अग्ली ,लामो कालो कपाल ,निलो निलो आँखा सबै उस्तै ,फरक् थियो त मात्रै उनको शरीर अलिक फैलिएछ भन्नाको मतलब अलिक मोटी भैइछिन् । झन् झन् सुन्दर देखें ।

' रोहिनी कहिले आयौ?" मैले कुराकानी शुरुवात गर्ने मनसायले सोधें । उनि झस्याङ्ग भैइन् किन भने म एक्कास्सी उनको नजिक पुगेर यो प्रश्न गर्न पुगेको थिएं ।

उनले मलाई यादै गरेकी थिईन क्या रे । मैले भने उनलाई अघि त्यो उकालोमा छोरा डोर्‍याउँदै आउँदा देखेको थिएं ।
" आम्मै राजु तिमी? तिमी त यहि पोस्टमा पो छौ? " उनि आश्चर्यचकित भैइन मलाई त्याहाँ देखेर ।
" हो नि म नगरकोट ब्यारेकबाट २ महिना भयो यहाँ पोस्टिङ्ग भएको ।अनि तिमी चै कहिले आयौ नेपाल?" म नि दङ्ग पर्दै थिएं रोहिनिलाई वर्षौ पछि भेट्दा ।
" काठमाण्डौं आएको त भयो १ महिना जति । म तल शहरतिरनै बस्छु ।आमाकोमा चै आज जानलाई हिडेको ।" उनि त्यो ठाडो उकालो करिब १ घण्टामा उक्लिन् होला भन्ने मैले अनुमान लगाए ।अलि थकित अनुहार देखें ।तुरुन्तै " ए श्याम लौ ३ वटा मेच लेरा त " भनिहाले।

"हस् सर" भन्दै श्यामले मेच भित्र अफिसबाट झिकेर ल्याईहाल्यो ।

" बसन रोहिनी ,निकै थकित देख्छु तिमीलाई ।सायद शरीरले अब साथ दिएन जस्तो छ।पहिले पहिले त पातली थियौ र पो मृगको पाठा जसरी उफ्रदै हिड्थ्यौ ।"

हाँसोको फोहरा फुट्यो त्याहाँ ।कति वर्ष सुन्दै थिए हाँसोका गुञ्जन। म पनि उनलाई साथ दिन संग संगै हाँस्न थालें ।
उनले " हो नि राजु अब चाँहि यो ज्यानले पनि आराम गर भने जस्तै छ ।हेर न यति १ घण्टाको उकालोले पनि मलाई थकित तुल्यायो । झन् यो छोरो त पाईलै पिच्छे बसौ भन्दै थियो ।" भनिन् ।

" छोराको बाबुको हालखबर जान्ने मनसायले सोधिहाले " अनि छोरोको बाबु खै त?

" उहाँ त यहाँ हुन्हुन्न ।उतै ईण्डियामै हुन्हुन्छ । हामी काठमाण्डौं आएको धेरै भएको छैन । म र छोरा मात्रै फुपु संग आएको ।" सायद रोहिनीले अलिक खल्लो महशुस गरिन् ।

'अनि तिमी एक्लै पो अहिले गाउँतिर हिडेको ?"मैले कुरा मोड्ने बिचारले सोधें ।

" हो त म यहाँबाट भागेर गए पछि यसपाली नै हो नेपाल फर्किएको । आमालाई भेट्ने औधि मन लागेकोले आएको आज " भन्दै थिइन् ।

"ए राम्रो नि त्यो त आफ्नोजन्म दिने आमालाई बिर्सनु पनि हुन्न ।" मैले उनको कुरालाई पश्रय दिनलाई भनें

" त्यो त हो तर म नेपालमा धेरै बस्दिन ।केहि महिनामा नै फर्किन्छु होला ।" उनि निरशताको साथ भन्दै थिइन् ।

"किन र? " म अत्यासिएं ।

"नेपाल बस्न मन् छैन?"सायद म उनिसंगको फेरी हुने बिछोडको कल्पनाले डराउँदै थिएं । उनि दुखित देखिन्थिन् ।
" खै के बस्नु? सधैको बन्द,हड्ताल ,भ्रष्टचार । सर्बत्र स्वार्थ व्याप्त देख्छु । केहि परिवर्तन हुन्छ भन्ठानियो त्यो बेलामा संघ्रर्षको मैदानमा उत्रदाँ । खै के पायौँ ? जसरी नि यो जीवन बाँच्नै पर्ने ।आदर्शका कुराले पेट नभरिने । उतै आम्दानी राम्रो छ । फर्किन्छु म त उतै ।" भन्दै थिईन् ।

ओहो !मैले उनको मनोभाव बुझें । सायद उनि उहि बितेका द्द्वन्दकालको आफ्नो अतितमा घोत्लिदैँ थिइन्।

मैले कुरा मोड्ने प्रयासमा "अनि कारोबार चाँहि के छ त्याहाँ? " भनि सोधें ।

उनि अब केहि उत्सुक भैइन् कुराकानी अगाडी बढाउन अनि " हाम्रो काश्मिरमा स्याउको बगैँचा छ । उहि बगैँचामा हातखुट्टा खियायो ,बस्यो ।आम्दानी राम्रै हुन्छ। खान लाउन पुगि केहि बचत पनि गरेका छौ ।" भनिन् ।

यसो भनिराख्दा उनमा मैले सन्तुष्टिका भावहरु प्रष्टैसंग पढें । जे होस कुनै समय मेरो दिलमा सजिएकी मेरो रानी आज अर्कैको हुदां पनि खुसी थिइन् ।यसैमा म पनि खुसी थिएं।

तर यो मनोदशालाई उनको अगाडी देखाउन भने मन लागेन त्यसैले मौन बसें ।
कुराकानी गर्न त उनि पनि आतुर थिईन् सायद "तिम्रो बिहे भयो कि भएन? " भन्दै मलाई सोधिन् ।

मलाई अलिक असजिलो लाग्यो तै पनि उत्तर दिन करै लाग्यो र भनें " भयो नि के गर्ने तिमी टाढा भयौ त ? सानी छोरी पनि छे २ वर्षको ।"

झट्ट यति भन्ने बित्तिकै उनको मुखकृति हेरें कता कता नमिठो अनुभव गरेझै लाग्यो । सायद उनि पनि ति बितेका पलहरुको तरेलीमा तैरिन लगिन क्या रे जुन दिनहरुमा हामी एउटै स्कुलमा एउटै कक्षामा अध्ययन् गर्थ्यौ ।

हामीले कक्षा ९ सम्म संगै पढन पाएका थियौ । सधै झगडा गर्‍थ्यौ तर त्यो झगडा भित्र पनि हाम्रो माया झल्कन्थ्यो ,आत्मियता अनुभव गर्‍र्थ्यौ । कुनै दिन भेट नहुदाँ र रिसारिस् नगर्दा दैनिकिमा कतै अपुरो महशुस गर्‍थ्यौ । उनिसंग झगडा गर्न निकै मज्जा आउँथ्यो । म उनको कपाल पछाडीको बेन्चमा बसेर बेस्सरी तानिदिन्थें अनि उनि पछाडी फर्केर मेरो हातमा हान्थी । म त्यो स्पर्शले रोमाञ्चित हुन्थें ।अनि कानमा खुसुक्क " म तिमीलाई माया गर्छु भनिदिन्थें उनि रिसले नाक फुलाउँदै ठुलाठुला आखाँको हेराई म तिर फाल्थी । म त्यहि हेराईमा आत्मसन्तुष्टी पाउँथें ।

संगैको दौतरी भएकोले होला हामी एक अर्कालाई तँ भनेर सम्बोधन गर्‍थ्यौ । "तँ " यो सम्बोधनमा अरु भन्दा नजिकपनाको आभास हुन्थ्यो । किन किन सामिप्यताको अनुभुती गर्न पुग्थें । मेलापात होस वा गोठाला जादाँ होस हामी प्राय संगै हुन्थ्यौ र म त्यहाँ पनि उसैगरि उनलाई जिस्काएर धुरुक्क्कै पार्थें ।उनि मलाई कुट्न भनि कहिले मकैको ढोड त कहिले बनमाराको सिर्कना लिएर लखेट्थी तर म केटा मान्छे के भेटाउँथी बिचरा उनि थकित हुन्थी । मलाई उनकि त्यो पसिनाले ल्याफ्र्याक्क भिजेको अनुहार देखेर असिम माया पलाउथ्यो अनि भेटोस भन्दै बिस्तारै दौडिन्थें । भेटेपछि मेरो खुट्टामा दुख्छ कि भने जसरी मायाले बिस्तारै हान्थी । उनि पुर्णरुपमा सन्तुष्टि हुन्थिन् ।सायद यहिँनेर हाम्रो माया अकुंराईसकेको थियो । हाम्रो प्रतिवाद र रिसहरुमा प्रेमले अझ प्रगाढ हुने मौका पाउदैँथियो ।

मेरो व्यक्त प्रेम अनि उनको अव्यक्त प्रेम यहि नै हाम्रो द्द्वन्द चल्थ्यो । म उनिसंगको काल्पनिक दुनियाँमा सयर गर्थें । उनको स्निग्ध मुहारमा आफ्नो प्रतिछायाँ भेट्थें । उनि बिनाको संसारको म कल्पना नि गर्न नस्कने अवस्थामा थिएं ।हाम्रो यो सम्बन्ध खुला किताब जस्तै थियो । घर, परिवार, टोल,छरछिमेक सबैलाई हाम्रो प्रेम सम्बन्धको बारेमा थाहा थियो । सबैको स्वीकारोक्तीले झनै हाम्रो माया कसिलो बनेको थियो सजिलै कसैले पनि चुडाउन नसक्ने। हामी ढुक्क थियौं । कतै कुनै अवरोध थिएन हाम्रो प्रेममा । बाटो खुला थियो जहाँ हामी जसरी चाहन्थ्यौ त्यसरीनै हिड्न सक्थ्यौ ।

तर यो विधातालाई स्वीकार थिएन सायद वा कसैको नजर लाग्यो हाम्रो प्रेममा जीवनको एउटा भुलले हामी बिच फाटो ल्याईदियो ,हाम्रो सुखी संसारमाथि एसिड छरिदियो ।जसको पोलाईले हामी असह्य हुन पुग्यौ ।

कुरो त्यस्तै ५३ साल तिरको हो । त्यतिबेला माओवादीहरुको भुमिगत युद्दको संग्राम चलिरहेको थियो ।उनिहरु आ-आफ्नो दस्तावेज बढाउन गाउँ गाउँ जनबिद्रोहको ज्वाला सहित भित्रभित्रै सल्कदैथियो थियो । स्कुल स्कुलमा गएर बिद्दार्थी संगठन बिस्तार गर्दैथिए । हाम्रो स्कुलमा पनि आए तिनीहरु । क्रान्तीकारी बिद्दार्थीको नाउँमा कसो गरि रोहिनीको नाम पनि राखिदिएछन् । थाहै नभएको बाटोमा रोहिनीको यात्रा शुरुहुदैँ थियो । मैले उनलाई नसम्झाएको हैन त्यसरी नाम नलेखाउ भनेर । तर कहि उनलाई कस्तो भुत सवार थियो मैले भनेको मानिन।
केहि दिनपछि नै सुराकी लागिहाल्यो । पुलिसले रोहिनीलाई समात्न आफ्नो दस्तावेज सहित घर घेर्न पुगिहाल्यो । कसो कसो गरि बुबाले पछाडीको झ्यालबाट हाम्फाल्न लगाउनुभएछ र बेपत्ता भैइन ।

भागेर उनि साँहिली फुपुको घरमा पुगिछिन् । त्याहाँ पनि पुगेछन् पुलिसहरु । भागाभागको खेल पछि उनि लडाकु साथीहरुको सम्पर्कमा पुगिछिन् । अन्जानमै उनि अब माओबादीको सकृय युवा कार्यकर्ता बन्न पुगेकी थिइन् । त्यसैले उनको भुमिगत नाम पनि' अन्जना' भनेर राखिदिएछन् । घर फर्किने वातावरण नै थिएन। फर्किउ समातेपछिको सजायले भयभित नफर्किउ भने उतै बेपत्ता हुने डरबिच उनि परेकी थिइन् । घरमा रातोदिन आर्मीको सर्च अनि खोजतलासीले उनमा झन झन् क्रान्तीको ज्वाला दन्किएको थियो ।

माओबादी के हो र के को लागि संघर्ष गर्दै थियो भन्नेबाट बेखबर उनले लगभग २ वर्ष सम्म सुराकीको काम गरिन् । आफ्नो शरीरभरि पर्चा,पम्प्लेट बेरेर गन्तव्यस्थलसम्म पुर्‍याउने जिम्मा बहन गर्थिन् । साँच्चै नै अन्जानमै उनले पार्टी प्रवेश गरेकी थिइन् ।
यता म गाउँमै बसेर पढदै थिएं । s.l.c को परीक्षा चल्दै थियो ।रोहिनी पनि आएकी थिइन् परीक्षा दिन तर कसैको सुराकीले सुरक्षाकर्मीहरु आईपुगे ।हेडसरले त्यो दिन उदारतानै देखाउनु भएको थियो ।पछाडीको झ्यालबाट रोहिनी लगायत अन्य साथीहरुलाई पनि भगाउन सफल हुनुभएको थियो ।

उनको पढाईले निरन्तरता पाउन सकेन। म भने झिरमा उनिएको माछा झै हुदैं थिएं। जसो तसो s .l .c. पास गरें । यति नै बेला दाजुको मृत्युको खबरले मेरो घरमा आगो लगाईदिएको थियो । सैनिक जवानमा कार्यरत मेरो दाजुको एम्बुसमा परि निधन भएको खबरले म लगायत घरका सबै स्तब्ध भएका थियौं । भाउजुको क्रन्दन ,नानीको रुवाईले म बहिरो बन्न पुगेको थिएं । म भित्र प्रतिसोधको ज्वाला रन्कदै थियो । किन किन माओबादी भनेपछि मारिहालु जस्तै पो लाग्न थाल्यो । सायद त्यो मेरो आफ्नैको मृत्युले सल्काएको झिल्को थियो जसले भयंकर आगलागि लगाउने सपना बुन्दै थियो ।

मैले अठोट लिए नेपाली सेनामा भर्ती भएर त्यो घाउहरुको बदला लिने । हुन त त्यतिखेर सेनामा हुनेहरु त परिवारको करकापमा परेर वा आफ्नो ज्यानको मायाले आफ्ना जागीर नै छोड्दै थिए । तर ममा एकोहोरो बदलाको भुत चढेको थियो । मैले कसैको कुरा सुनिन ।
यसपछि त हाम्रो अलिकति भएको न्यानो मायाको अनुभुतीहरु पनि चिसिदैं गयो । उनि भुमीगत योद्दा म नेपाली सेना आगो र पानीको मिलन असम्भावी भैदियो ।म मा सम्ंयता हराएको थियो ।

त्यसैबखत मेरो पोस्टिङ्ग सिंहदरबारभित्र भयो । उता रोहिनी 'अन्जना' बन्दै थिईन् म यता राष्ट्रसेवकको भूमिकामा हामी दुई दुईइकिनारा हुनपुग्यौं । सायद यहि नै भाग्यबिधाताको खेल थियो ।

अर्को वर्ष बल्लबल्ल बिदा मिलाएर दशैँमा म घर हिडेको थिएं । मैले रोहिनीलाई भेट्ने सपना देख्न बन्द गरिसकेको थिएं । किन किन उनि माओवादी हुन भन्ने सत्य जब मेरो अगाडी आउँथ्यो तब रिस र घृणाको ज्वालामुखि फुट्दथ्यो । उति बिघ्न माया लाग्ने रोहिनीप्रति म अब कुनै वास्ता राख्दिन भनेर अठोट गरें । सदरमुकामसम्म मात्रै जान सकिने घरमा पुग्ने वातावरण थिएन।आमा, बालाई उतै बोलाएको थिएं ।

सदरमुकाम पुगेकै दिन मेरो लागि जीवनको सबै भन्दा कठोर र दर्दनायक दिन हुन पुग्यो ।१३,१४ जनाको नेपाली सेनाको दस्ता बन्दुकको नालमा महिलाको बस्त्र बेर्दै सदरमुकाम भरि "आज 'अन्जना' मरि ।" भन्दै झ्याली पिट्दै हिड्दै रहेछ । मलाई एकछिन त सपना जस्तै लाग्यो तर त्यो यथार्थतामा त्यो बिपना थियो । म खङ्ग्रङ् भएं । दिउँसै रात पर्‍यो । उनिहरुले साँच्चै नै रोहिनीको झोला,कपडा,जुत्ता सबै बोकेर हिड्दै थिए ।यो खबरले ममा खुसी ल्याउनुपर्ने हो कि कुनै मेरो दाजुको हत्याराहरु मध्य एउटा त मरि तर भएन । झन् झन् मुटु दुख्न थाल्यो । केहि सोच्नै सकिन ।यति पिडा भयो कि मलाई सहनै गाह्रो भयो । टाउको भारी भयो ।उनको मृत्युको खबरले मर्माहत भएको थिएं ।पृथ्वी फनफन्ती घुमेझै लाग्न थाल्यो ।

एक्लै कोठाभित्र बसेर भक्कानिएर रोएं। उनको मृत्यु संगै म पनि पल पल मर्दै थिएं । संसार बिरानो लाग्न थाल्यो । बाँच्नुको कुनै तुक नै देखिन। सायद त्यो मेरो उनिप्रतिको अगाध माया थियो जुन त्यस दिन पोखिदैँथियो अश्रुको रुपमा अबिरल । दुई बिपरित ध्रुबको आकर्षण अझै बाँकि थियो क्या रे ममा उनको मृत्युले कुनै रङ लगाएको थिएन लगाएको थियो त बस बिषादका रङ्गहरु जुन न पखालिथ्यो न मेटिन्थ्यो ।

सायद त्यो हाम्रो निश्वार्थप्रेमको उपज थियो । कुनै दिनहरुमा उनको नाम पनि सुन्न चाहन्न्नथें । मैले भनेको नमान्न्ने घमण्डी झै लाग्थ्यो । तर त्यो त झुट र भ्रम पो रहेछ नत्र मलाई त्यस दिन त्यति धेरै पिडा हुन नपर्ने थियो । रोहिनीको यादले मलाई पलपल तडपाउँथ्यो ।म पल पल मरेर बाँच्दै थिएं।

मलाई अब जीवनप्रति मोह नै थिएन। दोहोरो भिडन्त हुदाँपनि जथाभावी फायरिङ गर्थे मरे नि मरोस भन्दै ज्यानै फाली दिन्थें तर मानो सकिएको थिएन क्यारे हरेक पटक बाँच्दथें।

लगभग ७ महिना पछि म डाँडा गाउँमा पोस्टिङग भएको थिएं । नुवाकोटबाट ईन्ट्री हुने र एक्जिट हुने यातायातका साधनहरुको सर्च गर्नुपर्ने थियो । त्यो दिन झिसमिसेमै चेकिङ्ग् शुरु गरियो । गाडी नुवाकोटबाट काठमाण्डौको लागि हिडेको थियो । चेकपोस्टमा आएर रोकियो ।सबैजनालाई बाहिर निस्कनको लागि भनियो।सबै ह्वारह्वार्ती निस्किए । म भित्र अरु कोहि बांकि छ कि भनेर पसें । पछाडीको सिटमा कोहि हल्लिए जस्तै लाग्यो । बस भित्र अध्याँरो अध्याँरो नै थियो । छाँया चलेजस्तै लाग्यो । केहि शंकास्पद घटनाको भयले शरीर झनन भयो ।तर फेरि साम्य देखें। अलिकति ढुक्क भएं ।

अनि कौतुहलताले बास जमाउन थाल्यो । के रहेछ भनेर जान्न मन लाग्यो । बिस्तारै अगाडी बढें।हेर्छु त कुनै महिला पछ्यौरीले शरीर पुरै ढाकेर गुजुल्टो परेर सुतिरहेको रहेछ। पछ्यौरी बिस्तारै उघारें। अज्ञात भयले मन उड्दै थियो । तर तर मैले सोचें भन्द बिल्कुलै फरक शैलीमा उनलाई त्यहां देख्दा मेरो हातहरु काँप्न पो थाल्यो । कपाल नकोरेर महिनौ भएजस्तै देखिन्थ्यो । कमजोरीले होला अनुहार सेतो रगतै नभएको झै देखिन्थ्यो ।उनि अरु कोहि हैन मेरै प्रिय रोहिनी थिइन् । म खुसील् गद्गद् भएको थिएं । मरिसकेकी मेरि मायालुलाई साक्षात आफ्नो अगाडी देख्दा एकैछिन त सपना हो कि भन्ने भ्रम पनि पर्‍यो । फेरि आफैलाई चिमोटी हेरें । दुख्यो हैन रहेछ बिपना नै रहेछ भन्ने यकिन भो ।तर उनि त्याहाँ त्यस्तो अवस्थामा देख्दा मन छटपटी भयो । के गरुँ कसो गरुँ भयो । उनले मलाई चिनिन् क्यारे एकहोरो हेरिरहिन् ।

तत्कालै " भित्र कोहि छ बाँकी? " भन्ने प्रश्नले मेरो दिमागलाई खल्बलायो ।

"छैन सर।" एक्कास्सी मेरो मुखबाट यस्ता शब्दहरु निस्किएछन् ।प्रथम पटक म आफ्नो कर्तव्यबाट चुक्दै थिएं । मलाई थाहा थियो रोहिनीलाई उनिहरुले भेटे भने छाड्दैनन् । किन किन म अफ्नो प्रतिद्वन्दीलाई बचाउँदैथिएं ।

म रोहिनीको जीवन चाहन्थें मृत्यु हैन। त्यसैले झुट बोल्न मलाई किञ्चित अपठ्यारो लागेन । मैले उनको आँखामा गहिरेर हेरें । साह्रै सिकिस्त देखिन्थिन् । निकै दिन देखि अन्न पानी पेटमा नपरेको झै आभास गर्न पुगें । मनभित्रैबाट असिम माया पलाएर आयो ।
अंगालोमा बाँधेर क्वाक्वाँ रोईदिउ जस्तो लाग्दैथ्यो । तर विवस थिएं । मेरा हात खुट्टाहरु परिबन्दको सिक्रीले कसिएर बाँधिएका थिए ।म चाहेर पनि उनिप्रतिको त्यो माया ,स्नेहलाई पोख्न सक्दिनथिएं ।

सायद उनले मलाई चिनिन् क्यारे पुर्लुक्क मेरो आँखामा हेरिन् अनि क्षणभरमै शिर निहुराईन् । हामी बिच कुनै संम्बाद भएन मात्र आँखाको भाका बोल्दै थियो ।उनले मैले देखाएको त्यो सहानुभूतीको महशुस गरिन् कि कृपादृष्टीसहितको एक नजर मतिर फ्याँकिन् ।

म बसबाट भारी मन लिएर ओर्लिएँ ।एकछिन पछि बस त्याहाँबाट आफ्नो गन्तव्यतिर रफ्तारका साथ गतिमान भयो ।म अवाक उभिरहेँ । बस जति टाढा पुग्दैथियो मेरो मुटु पनि कसैले चुडालेर लगेझै भान भयो । दौडने मन भयो । मुटु कटकटी खान थाल्यो । तर म विवश थिएँ ।

भोलिपल्ट मैले आमा बिमारी पर्नुभएकोले काठमाण्डौं उपचारको लागि लैजानुपर्ने बहाना बनाई अफिसबाट बलजफ्ती बिदा लिएँ ।मलाई आशा थियो कि रोहिनी उनको कान्छी फूपुकोमा हुनुपर्छ। म सिधै फूपुको घरमा पुगेँ । नभन्दै रोहिनी त्यहि रहिछिन् । हर्षले बिभोर भएँ। मन फुरुङ्ग भयो।म निला निला गगन चुम्न उडदै थिएँ ।ओईलन लागेको बिरुवामा केहि थोपा पानीका छिटा परेको अनुभूती गरेँ।

उनि खाटमा पल्टिरहेकी थिइन्। मलाई देख्ने बितिक्कै मुसुक्क मुस्कुराईन । अनि ईसाराले नजिकै बस्न अनुरोध गरिन्। नजिकै बस्न पाउनुको बेग्लै आनन्द थियो । सिरानीलाई अलिक ठाडो पारेर उनि बसिन् ।

मनले त भन्दै थियो सिरानीमा हैन आफ्नै काखमा राखुँ तर कता कता डर लग्यो ।तत्कालै मनलाई थुम्थुम्याएँ।
अनि भने "तिमीलाई फेरि भेट्छुहोला भन्ने त दशमनमा एकमनले पनि सोचेको थिइन। तिम्रो मृत्युको खबरले म आहत भएको थिएँ।"
फिसिक्क हाँसिन मानौ कुनै रङ्ग थिएन उनमा,केवल त्यो ज्यानलाई जसोतसो अडाएकी थिइन् ।

भन्न थालिन् " साँच्चै नै मलाई पनि लागेकै थिएन अब यो जुनीमा तिमीलाई फेरि भेट्छु भनेर तर दैबसंजोग हेरन हिजो तिमी त्यस ठाउँमा नहुदोँ हौ त म आज यहाँ हुन्नथिएँ । तिमीलाई मेरो लाखौंलाख धन्यवाद।"

मलाई पोल्यो त्यो 'धन्यवाद' ले ।त्यो पोलाईलाई चिसो पार्न' किन त्यस्तो कुरा गर्‍छ्यौ ? त्यो मेरो तिमीप्रति आशक्ती थियो ।तिम्रो ठाउँमा अरु कोहि हुदोँ हो त म छाड्दिन थिएँ ।तर तिमीमा खै के त्यस्तो जादु छ मेरो हातहरु रोकिएकोथियो । अनि तिम्रो मृत्युको झुटा खबर कसले फिजाँयो गाउँघरमा?"

म अब त्यो रहस्य खोतल्न आतुर थिएँ । लामो श्वास फेरिन रोहिनीले अनि भनिन् आफ्ना कथाव्यथा ।
केहि भावुक अनि केहि रोमाञ्चित हुदै भनिन् " त्यो दिन म आमाको साह्रै न्यास्रो लागेर साथीहरुलाई पनि नभनी भागेर सदरमुकाम पुगेको थिएँ ।मामाघरमा आमा आउँदैहुन्हुन्छ भन्नेसुनेको थिएँ ।

कसैले सुराकी गरिदिएछन् ।म त्याहाँ निहत्था पुगेकी थिएँ । म पुग्नु अगावै उनिहरु दलबल सहित तयारी अवस्थामा बसिसकेछन्। सदरमुकाममै भएकोले उनिहरुको बोलवाला थियो ।हामी हम्मेसी त्याहाँ दिनमा जाँदैनथ्यौ । उनिहरुले मेरो फोटो लिएर सदरमुकामभरि सोध्दै हिडेछन्। म आउने खबर पाएपछि मलाई सिध्याउने रणनितिक चाल चलेछन् ।मामाघर नजिकै पुग्दा कता कता मलाई अनौठो दुश्मनी चालको गन्ध आयो ।मेरा आँखाहरु शसंकित हुदैथियो ।केहि अप्रीय घटनाको अनुमान गरेँ किनकि सदरमुकाममा अघिपछिको जस्तो चहलाफल थिएन ।पसलहरु बन्द थिए ।मेरो मष्तिस्कमा झट्का लाग्यो यस्तो त कुनै युद्दको छेडखानी हुनु अघि हुने गर्‍थ्यो।

मेरो अनुमान सहि निस्क्यो ।मैले यति सोच्न नभ्याउँदै कतैबाट म भएतिर फायरिङ्ग् शुरु भयो ।लडाकु साथीहरुसंग रहदाँ बस्दा सिकेको केहि युद्द् कौसललाई प्रयोग गरें ।बन्दुकका गोली छल्नु चानचुने कुरो थिएन ।कसो कसो म ती गोलीका बर्षात छल्दै छल्दै जङ्गल भएतिर पुग्न सफल भएँ ।

जंगलमा पुगेपछि मलाई दौडन असजिलो भएकोले झोलाबाट ट्र्याक झिकेर लगाएँ अनि साथमा गोल्डेन जुत्ता झिकेर लगाएँ ।चप्पल र कुर्था चाँहि त्यहि छोडेर भाग्नुपर्‍यो ।गोली कहिले मेरो कुम नजिकैबाट जान्थ्यो कहिले टाङ मुनिबाट जान्थ्यो ।

मृत्युलाई नजिकै बाट नियाल्दै थिएं । अजङगको शरीरको कुरुप अनि सातो नै लैजाला जस्तो मृत्युरुपी दानबहरुले मलाई पछ्याए झै लाग्दैथियो ।जंगलमा दौडदा ऐंसेलु र चुत्रोको झाङले शरीरभरि कोतरेर रगताम्य भएकी थिएं तै पनि हार मान्नेवाली थिइन ।शरीरलाई सकेसम्मको बल प्रयोग गरि अगाडी ठेल्दै लगें। मुसा र बिरालोको खेल जस्तो लुक्दै भाग्दै आफ्नो जीवनरक्षार्थ म चुनौतीसंग जुझ्दै थिएं । म दौडिएको भुईँ रगतका थोपाहरुले सिञ्चित हुदैँथियो ।बेगसित भाग्ने क्रममा ठूलो छाङ्गामा पुगें ।अगाडी बढ्ने बाटो समाप्त भएको थियो । कुनै अन्य मार्ग नभएपछि यिनका हात लागेर पिडादायिक जीवन वा मृत्यु पाउनु भन्दा त यहि छाङ्गाबाट खसेर मरिए पनि मरियोस भन्ने सोचाईले राम्रैसंग जरो गाड्यो मनमा अनि झ्वाम्मै हाम्फाले पारी तर्नलाई ।संयोग भनु वा मेरो दिन नपुगेर हो तर्नै नसकिने त्यो ठूलो छाङ्गा कटिएछ। धड्म्म भनि पारीपट्टीको खोचंमा पछारिन पुगेछु । श्वासप्रश्वास नै रोकिएला झै भएको थियो । एकछिन त त्यहि उठ्न नसकेर घोप्टिएं । त्यो ठूलो छाङ्गा तर्न नसकिने ठोकुवा गर्दै पक्कै पनि म त्यहि खसेर मरि भन्ठानेछन् उनिहरुले मेरो कपडा र जुत्ता लिएर अन्जना आज मरि भन्दै हर्षोल्लास सहितका ध्वनी जंगलभरि नै गुञ्जयमान गर्दै फर्किए । केहि राहत महशुस गरें। अब उनिहरुले मेरो खोजी नगर्ने कुरामा निस्चिन्त भएं । बिस्तारै त्यो घायल शरीरलाई बलजफ्ती घिसार्दै घिसार्दै काउलेमा पुर्‍याएं । दिन ढल्न थालिसकेको थियो । म अचेत हुन लागेकीं थिएं । अनि परालको कुन्यु भित्र पसें । सायद म बेहोस भएछु । भोलिपल्ट बस्तुलाई पराल दिन कुन्युमा पराल तान्न आउने आमाले पो मलाई भेट्नु भएछ । घरमा लगि उपचार गर्नुभएछ । होस आउन पुरै एकदिन लागेछ । पछि आमाले भन्नुहुदैँथियो ।

त्यसपछि म त्यहि कहिले मलको भारी बोक्दै कहिले बारीमा डल्ला फोर्दै बसें । केहि महिना त्यसरी नै बिताएं । तर स्वास्थ्यसिथिति झन् झन् बिग्रदैँ गयो । सबैले काठमाण्डौ गएर उपचार गर्नुपर्ने सल्लाह दिए । हिजै हिडेको थिएं त्याहाबाट । सक्ने हुदोँ हो त म त्यो जंगलकै बाटो भएर आउँथें तर यो शरीरले कहिलेकाँहि साथ नदिदोँ रहेछ । बाध्य भएर बसको यात्रा गर्नु पर्‍यो हिजो । तिमी नभएको भए मलाई हिजै भेट्थे । तिमीलाई लाखौ लाख धन्यवाद ।"

मलाई लाग्यो म कुनै चलचित्रको डरलाग्दो दृश्य हेर्दै थिएं । द्द्न्द अनि प्रतिद्द्न्दमा मेरो नायकले बिजय प्राप्त गरेझै लाग्यो । साँच्चैनै मलाई रोहिनी वास्तबिक जीवनको नायक थिइन् । उनको त्यो साहसिक यात्राको एउटा छेउ म पनि हुन पाउँदा अत्यन्तै खुसी लाग्यो ।
काठमाण्डौमा बसेर उपचार गर्न सम्भव थिएन किन की त्यतिबेला हर रात घर घर खानतलासीको लागि आर्मी हिड्थे। भेटिहालेने डर थियो ।उनको कान्छी फूपुको सल्लाहमै अब उनि भारतको काश्मिरमा उनको माईली फूपुकोमा जाने बन्दोबस्त मिलाईयो । अनगिन्ती बिछोडको क्रममा यो बिछोड पनि पिडादायिक नै थियो । तर पनि उनको जीवनरक्षार्थ यो सबै म चुपचाप स्वीकार गर्दै थिएं । बिदाईको हातहरु हल्लिदैँगर्दा मेरो मुटु पनि बेजोडसंग हल्लिदैँ थियो ।

त्यसपछि हाम्रो भेट हुन सकेन। म कहिले काँहि कान्छी फूपुकोमा पुग्थें उनको हालखबर जान्न। यस्तै २ वर्ष पछि सुने मेरो मुटुको टुक्रा त अरु कसैको भैइसकिछिन् ।फूपुकोमा कति बोझ भएर बस्नु भन्ठानिछिन् क्यारे फूपुकै सहमतीमा फूपुलेनै हेर्नुभएको केटा संग बिबाह गरिछिन् । मेरो मुटु त्यसदिन देखि अरु कसैकोलागि धड्किन थालिछिन् । भाग्यको यो खेलमा म हारेको थिएं । आज उनै मेरो रोहिनी मेरो अगाडी उभिरहेकीथिइन् ।आफ्नै छुट्टै संसारमा रमाउँदै थिइन्। उनि आफ्नो जीवानबाट सन्तुष्टी थिइन्।

आफुले प्राप्त गर्न नसके पनि म खुसी थिएं।उनको त्यो जीवनबाट । मेरो मनसाय अब उनि यतै बसुन भन्ने थियो । अब त द्द्वन्द पनि सकिएको थियो ।भूमिगतहरु सबै स्वतन्त्र जीवनयापन गर्न थालेका थियो ।

उनलाई कुनै खतरा थिएन त्यसैले भनेँ " अब यतै बसे हुन्छ नि।"

केहि सकारात्मक प्रतिकृयाको प्रतिक्षामा म थिएं ।तर उनिमा कुनै उमङ्ग थिएन । मेरो सुझावमा कुनै लगाव देखिन । वास्तै गरिन बरु भन्न थालिन् " परिवर्तनका आशाले ज्यानै फालेर क्रान्तीमा आफुलाई होमे । त्यत्रो त्याग गर्‍यौं । तर खै सोचे जस्तो केहि भएन । गरिब निमुखा अझै उस्तै छन् । सम्पन झन् सम्नपन्नशाली हुदैँ गएका छन् । नाटकिय परिवर्तन भएकोछ । हामी आम जनताले सोचे भन्दा फरक छ यो परिवर्तन । भैगो छाडिदेउ यस्ता कुराहरु ।म उतै जान्छु । बस्दिन नेपालमा ।

जहाँ गएपनि बाँच्नै पर्ने हो । जसरी नि पेट भर्ने नै हो । वाक्क लागिसक्यो यो बेतुकको परिवर्तनले ।
उनको कुरा सुनेर मलाई उदेक लाग्यो । कुनै दिन उहि रोहिनी अन्जना बनेर हिड्दा कस्ता कस्ता परिवर्तनका भाषाहरु बोल्थिन् आज उनि रोहिनीमा यस्तो निरसपन देख्दा कता कता दुखेको महशुस गरें।

साँझ पर्न थालेको थियो ।उनि अब उकालो चढ्न आतुर थिइन् ।रात पर्नि अगावै माईती पुग्न व्यग्र थिइन त्यसैले मैले उनलाई त्याहाँबाट बिदा गरें ।उनि अब त्यो ठाडो उकालो बिस्तारै चढ्दैथिइन् म भने उनले भनेका परिवर्तनका कुराहरुमा घोत्लिन थालेको थिएं ।

केहिछिन बिष्लेषण गरें । साँच्चै नै नेपाली जनताले चाहेको परिवर्तन आएको थियो ? ती अनाम बेनाम शहिदहरुको सपनाले के कुनै रङ्ग ल्याएको थियो ? गाउँगाउँमा अझै उहि टुकीकै सहारामा ती बुढी आमाहरु ढिकीजाँता गर्दैछन् । अनि पुलको अभावमा ज्यानै जोखिममा पारेर तुहिन चढेर बिद्दार्थी भाईबहिनीहरु खोला तर्दै छन् । नेपाली छोरा छोरीहरु बिदेशी भूमिमा आफ्ना रगत बगाउँदैछन् । त्यो तातो मरुभूमिमा जल्दैछन् ,धपधपी बल्दैछन् । माओवादी पक्षका होस वा सैनिक र सर्वसाधरण पक्षका होस जो जसले आफ्नो ज्यान गुमाए ती सबै आखिर नेपाल आमाकै सन्तति थिए । १२ वर्षे जनयुद्दको के के परिवर्तन ल्यायो भन्ने बारे म अझै घोत्लिदैँछु बिश्लेषण गर्दैछु ।सायद यसको परिवर्तन् थाहा पाउन बितेका ३ वर्ष बिताएँ । अझै ३ महिना कुर्नै पर्नेभाछ । म प्रतिक्षामा नै छु । डर लाग्दैछ कतै प्रतिक्षामै बित्ने त हैन यो पुरै जीवन । तै पनि सास रहुन्जेल आश भने जस्तै पर्खनु सिवाय अरु कुनै बिकल्प पनि त छैन।

समाप्त

0 comments:

Post a Comment

 
Top