Menu


.

सुशील पौडेल - काठमाडौ, भाद्र ८ - 'हजुरको अर्धाङ्गनी भएर बस्न नपाए पनि दासी भएर पूजा गर्न चाहन्छु ।''मलाई कुनै हक चाहिएको छैन हजुरको पाउको धुलो भए पुग्छ ।' 'मैले उहाँको मन जित्न सकिनँ यसमा उहाँको कुनै दोष छैन ।''आजसम्म हजुरसँग केही मागेकी छैन, तर आज माग्छु- हजुरको पाउको पानी (अमृत) खान दिनुस् ।' सदियौं पुरानो अविकसित समाजमा एक पत्नीले पतिसँग गरेको याचनाझैं लाग्ने यी आलापविलाप शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'श्रीमान् श्रीमती' का हुन् । फिल्ममा नारी पात्रलाई यसरी अति कमजोर र दयाको पात्रको रूपमा प्रस्तुत गरिएको छ । केवल दर्शकका आँखाबाट आँसु चुहाउने प्रयासमा यति नीच देखाइनु न्यायसंगत लाग्दैन । फिल्मकी पीडित नारी विद्रोह वा समस्यासँग जुध्नुको बदला आत्महत्याको बाटो रोज्छिन् ।

ऋषि लामिछाने निर्देशित फिल्म 'श्रीमान् श्रीमती'मा श्रीमान्ले आफ्नै आँखाअघि सौता हाल्न लाग्दा र हेला गर्दासमेत यी अभागी श्रीमतीको दिमागमा श्रीमान्प्रति गुनासो पैदा हुँदैन । बरु श्रीमान्लाई उल्टै भगवान् मान्छिन् । छोटो बाटो रातारात करोडपति हुने धुनमा लागेको राजेश (श्रीकृष्ण श्रेष्ठ) सहरकी करोडपति बाबुकी एक्ली छोरीलाई फसाएर मनोकांक्षा पूरा गर्ने धुनमा हुन्छ । उसको भेट पि्रया (श्वेता खड्का)सँग हुन्छ । पि्रयाबाटै करोडपति सपना पूरा हुने ठानी राजेश लक्ष्मी (सरिता लामिछाने) लाई सौता हाल्न तयार हुन्छ । तर उक्त कुरा राजेशकै जस्तो करोडपतिको सपना देखेर साथै लागेको राहुल (मुकेश)लाई चित्त बुझ्दैन र गाउँबाट लक्ष्मीलाई झिकाउँछ । तर राजेशको सोचविपरीत लक्ष्मीले पतिव्रता देखाउँछिन् । धनलम्पट राजेशले आफूलाई धन र रूप दुवै नभएकी भन्दै दुव्र्यवहार गर्दा र हुनेवाली सौताका अघि नोकर्नी बनाउँदासमेत पतिलाई भगवान् सम्झँदै उल्टै आफंैले विष सेवन गर्छिन् ।
शिवम् अधिकारी लिखित कथाले दर्शकलाई कुन उद्देश्यतिर डोर्‍याइरहेको हो स्पष्ट पार्दैन । सवा दुई घन्टाभन्दा लामो फिल्मको पहिलो भाग विषय प्रवेश नै नगरी सकिएको छ भने दोस्रो भागमा माथिका यावत् कुरा । करोडपति बन्ने दाउपेचमा लागेका राजेश र राहुलले धनीराम साहु (सुनील थापा)लाई टुँडिखेलको जग्गा बेचेर १९ लाख रुपैयाँ कुम्ल्याएको देखाइनु 'हाँस्नका लागि आफ्नै काखी कन्याउनु' जस्तो लाग्छ । यदि त्यस्ता धन भएका मूर्ख नै हुने हुन् भने करोडपति हुनलाई किन बाटो-बाटोमा धनी बाउकी छोरी खोज्दै हिँड्नुपर्‍यो ? भएभरका सार्वजनिक जग्गा बेच्दै हिँडे त भैगयो नि ।

टुँडिखेल बेचेको पैसा डिस्कोमा छर्नुदेखि कलेजमा केटी पट्याउन छिर्दा गार्डसम्मलाई घुस खुवाउन खर्चन्छन् । सुनसान लाग्ने कलेज हाताभित्र दादागिरी देखाउँछन् र केटी पट््याउँछन् । कवाडीवाला (राजाराम पौडेल) जो आफू गरिब भए पनि छोरी पि्रयाले करोडपति केटोलाई फसाएर बिहे गरोस् भनेर भाडामै कार मिलाइदिनेदेखि महँगो कलेजमा पढ्ने जोरजामसम्म गराइदिएको हुन्छ । फिल्मको पहिलो भागसम्म कुनै पनि पात्र सज्जन र विवेकी लाग्दैनन् । यसले केही मात्रामा दर्शक हँसाए पनि विषयमा पस्नै सकेको देखिँदैन । दर्शकले सास्ती महसुस गर्छन् ।

कतिपय उपकथा र दृश्यलाई प्रदर्शनमा आईसकेका हिन्दी फिल्मको झल्को दिलाउने गरी तयार पारिएको मुनाल घिमिरे निर्मित फिल्ममा दुईटा संवाद हिन्दीमा पनि राखिएको छ । हिन्दी संवाद बोलिसकेपछि पात्रले भन्छन्, अब यसलाई नेपालीमा पनि सुन । लाग्छ, पटकथाले पनि फिल्मलाई नेपालीमा सुनाइरहेको छ/देखाइरहेको छ । अभिनय पक्ष भने फिल्ममा राम्रै छ । जे जति कथा बचेखुचेको छ, त्यसमा निर्देशकले फिल्म तयार पार्ने प्रयास गरेका छन् । दीपक वान्तवा पुनः छायांकनमा राम्रो गर्नबाट चुकेका छन् । द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठको काममा सनातन नै छ । बरु गोविन्द राई र पुर्नम राईले कोरियोग्राफीमा केही मिहिनेत गर्न खोजेका छन् ।

0 comments:

Post a Comment

 
Top