Menu


.

यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको संकलन हो मानिसको जीवन । बिचमा धेरै घटनाहरु भए, र धेरथोर सिर्जनाहरु पनि । यहाँ जोड्न मिल्ने केही घटनालाई समय मिल्यो भने अवश्य शेयर गर्ने नै छु । यस अघि नै दुइ कथाहरु क्रमश: "दौराको फेर" र "इसरत" पनि लेखेर राखेको छु, टाइप गर्न भ्याएको छैन, समय मिलाएर छिटै टाइप गरी पस्कने छु । अहिलेलाइ यो कथा --







कहाँ गइस दिदी?

सम्झनाको धमिलो छाया पछ्याउदै म त्यो हदसम्म विगतलाई छुन सक्छु अनि दिदीको प्रेम र आत्मियता महसुस गर्न सक्छु, जुनबेला मैले भर्खर बोल्न शुरु गरेको थिएँ । म स्कुल जान अझै थालेको थिईनँ तर दिदी स्कुल जान थालेको चाहि दुई बर्ष भैसकेको थियो । छुट्टी हुने बेला दिदी स्कुलबाट फर्किएको हेर्दै म आँगनको डिलमा बसेर कुरिरहेको हुन्थें । दिदी सबै भन्दा पहिले आउथी, पिढीमा झोला फुत्त फ्याकेर दुवै हातले हावामा घुमाउदै उचाल्थी उ मलाइ । उसको झोलाबाट हलुवाको मीठो वासना आइरहेको हुन्थ्यो, अघिदेखि जसको प्रतिक्षामा म बसेको हुन्थें ।

त्यसताका दुर्गम भेगका सरकारी विद्यालयहरुमा हलुवा दिईन्थ्यो । आफ्नो भागको हलुवा नखाइकन घर ल्याउथी दिदी । उसले ल्याएका हलुवाबाट हेर्दा हेर्दै चरा बाघ भालु बिरालो जस्ता अनेक आकृतिहरु बनाउथी र बुट्टे थालमा लश्करै राख्थी । अनि पालैपालो मलाइ खुवाउदै भन्थी अब भाइले चरा खायो, बिरालो खायो, भालु खायो, बाघ पनि खायो । अनि म उसले बनाएका बाघ भालु खाएर भकुल्ले हुदै गईरहेको थिएँ ।

दिदीको सम्झना हुने बित्तिकै म हलुवाबाट बनेका तिनै बाघभालुका आकृतिहरु सम्झन्छु ।

एकदिन दिदी घर फर्कंदा उसँग सधैं जस्तो हलुवा थिएन। मलाइ उचाल्दै उसले कथा सुनाइ - घर फर्कंदा एउटा केटासँग उसको भनाभन पर्यो, अनि त्यो सँग झगडा गर्दा हलुवा भुईमा खस्यो ।

जहिले देखि म बुझ्ने भएँ, मैले थाहा पाएका मेरो जीवनका प्रारम्भिक कथाहरु हुन् यी। विस्तारै हामी संगै स्कुल जान थाल्यौं । त्यही बेला देखि नै मलाइ थाहा थियो - दिदी कडा मिजाजकी थिई, कसै सँग पनि झुक्दिनथी, डराउदिनथी, पछि हट्दिनथी । उसँग प्राय केटाहरु पनि त्यतिकै बोल्न डराउथे ।

नेपालको एउटा विकट जिल्लाको विकट गाउँमा हुर्किएका थियौं हामी, रुढीवादी परम्परा र संस्कारले व्याप्त थियो समाज । भेदभाव अशिक्षा र वर्गीय असमानताका अनेकन समस्याहरु विद्यमान थिए । उ यस्ता कुरीतिहरुको जरो उखेलेर फ्याक्ने सपना देख्थी र उसका सपनाहरु हामीलाई पनि सुनाउथी । ती सपनाहरु सुन्दर हुन्थे, दन्त्यकथाका नायिकाको जीवनजस्तै साहसी र रोमान्चक हुन्थे ।

दशैं तिहारको उमंग बोकेर धेरै शरदहरु आए, पहेलपुर सयपत्रीहरु फक्रिए । सप्तरंगी टिका र मखमली मालामा सजिएर धेरै अविष्मरणीय तिहारहरु संगै मनायौं । बरण्डाको रेलिंगभरि सँगै मैनबत्ती र दियो बालेर दिपावली गरेका अनमोल सम्झनाहरु बोकेर घुमिफिरी बर्षैपिच्छे आउछ तिहार। तेलको रेखाले वरिपरी घेर्दै हरेक भाइटिकाको साइतमा उसले भनेको सम्झन्छु - अब मेरो भाइलाई कसैले छुन सक्दैन ।


दिदीहरुको भैली खेल्ने समूह ठूलो थियो ।कहिलेकाही हामी पनि मिस्सिएर जान्थ्यौं, खुब रमाइलो हुन्थ्यो । गाउँको सिरानमा रहेको डाडाघरेको घरमा पुगेपछि सबैलाई बराबरी पैसा बाडथी उ, तर एउटा तिहार भैली खेल्नेहरु कसैले पनि पैसा पाएनन् । बाहिर चुपचाप भए पनि भित्र भित्र रिसाउनेहरु धेरै थिए भन्ने मलाइ लाग्यो ।

त्यो पैसाले उसले खोल्न र बन्द गरेर साँचो लगाउन मिल्ने झ्याल्जस्तो शिसाको खापा भएको बाकस किनेर ल्याई र भित्तामा झुन्ड्याई । केटाकेटी देखि ठुला मान्छेहरु पनि पढिरहेका थिए । त्यस्तै सातमा पढ्थी उ, उनीहरुले त्यो भित्ते पत्रिका चलाएका थिए । वाकस भित्रको भित्तेपत्रिकामा सबैभन्दा माथि लेखिएको थियो " बिगुल" । छेउ छेउमा दुइतिर फर्किएका विगुलका चित्रहरु थिए । त्यसको मुनितिर राखिएका रचना, जानकारी, सुचना, समाचार र अन्य सामाग्रीहरु हरेक हप्ता फेरिदै जान्थे । हामी पनि उसलाई सघाउथ्यौं ।

दिदी कसैसँग पनि लजाइन, डराइन र झुकिन । यसै बिषयमा घरमा बारम्बार उसैको चर्चा हुन्थ्यो, छिमेकीहरू पनि सुनाउथे - यो केटाजस्ती छ, नारीसुलभ लज्जा यसमा पटक्कै छैन, अलिकति त नरम हुनुपर्छ नि, कस्ती कडा मिजाजकी केटी, यसले दुख पाउछे.... आदि इत्यादि ।


दिदी र ममा धेरै बर्षको अन्तर थिएन
हामी तँ भनेरै सम्बोधन गर्थ्यौं, उ साथी जस्ती थिई तर उसको भूमिका चाहि परिपक्व र अभिभावकको जस्तो थियो । उमेरसंगै पछि त म दिदी भन्दा पनि अग्लो भएँ । हामीलाई को दिदी र को भाइ छुट्याउन पनि गाह्रो पर्थ्यो ।

त्यो दिन स्कुल बाट फर्किंदा घरभरि मानिसहरु थिए, भित्तामा झुन्ड्याइएको भित्ते पत्रिका त्यहाँ थिएन । केही दिन अगाडी दिदीले बुजुर्वा शिक्षाको बिरोधमा एउटा लेख राखेकी थिई र एउटा कविता । कविताको शिर्षक थियो "रातो तारा" । शायद त्यही बिषयमा घरमा सोधपुछ भैरहेको थियो, आमा खुब डराउनु भयो । भित्ते पत्रिका झिकिएको बिषयमा दिदीले बहस गर्न चाही । आमाले बोल्न दिनु भएन, सबैजना गए पछि गाउँलेहरुले उल्टो दिदीलाई नै सम्झाए ।

घरमा दिदीका साथीहरु आउँथे, केही परिचित, केही अपरिचित । एकदिन मैले उनीहरुको कुराकानी चियाएर सुनें । दिदी बारम्बार भनिरहेकी थिई - कुरा मात्र गर्ने हैन साथीहरु, अब साच्चिकै लड्ने समय आएको छ, देशका लागि रगत बगाउने समय आएको छ ।

कस्तो थियो त्यो लडाई ?

त्यसको केहीदिन पछि दिदी हराई । दिदी हराएको दिनदेखि आमाको आँखा कहिले ओभाएन । हराएको मान्छे भेटिने कथा भएको श्री स्वास्थानिको व्रत लिनु भयो आमाले । अनेक संकल्प र भाकल राख्नुभयो, तर दिदी घर फ़र्किईन ।

त्यसपछिको तिहार म एक्लै भएँ तर दोश्रो बर्षको औंसी, उ यसरी झुल्किई मानौं घरमा चहकिलो बत्ति बलेको छ र उसको आगमनले पुरै घर जगमग उज्यालो भएको छ । बा आमा गम्लंग अँगालो मारेर रुनु भयो । उसले काँधमा झोला भिरेकी थिई र खुट्टामा क्यानभास जुत्ता लगाएकी । मेरो पनि छाती भक्कानियो। खुसि हो या गुनासो, भावनाको एउटा विशाल सगरमाथा छातीभित्र पसारिएझैँ भयो । उसँग भन्नुपर्ने, पोख्नुपर्ने कति कुराहरु छातीभित्र तँछाड मछाड गर्न थाले, तर केही बोल्न सकिन ।

मैले यत्ति भनेँ,
किन गइस दिदी, अब नजा ल ?

भाइटिकाको साइत, उसले पहिले जस्तै तेल र पानीको धारा लगाउदै भनी - अब यमराज पनि यो घेरा भित्र पस्न सक्दैन, मेरो भाइलाई अब कसैले छुन सक्दैन ।
"दिदी, यस्तै आस्था र विश्वासको घेराभित्र के मैलेचाही तँलाई सुरक्षित राख्न सकुँला ?" मलाइ डाको छोडेर रुन मन लाग्यो । केटो मान्छे भएर पनि रुन्छ? दिदीले मेरो आँखामा बग्न थालेको नदीमा चियाउदै बेस्सरी हकारी ।

त्यसपछि मेरा कुनै पनि तिहारहरु उज्याला भएनन् र भाइटिका सधै उदास र एक्लो हुन थाल्यो । दिदी सधैका लागि हराई । उसको र उसले देखेको उज्यालो सपनाको प्रतिक्षामा धेरै हिउँद बर्षा र चाड पर्वहरु बितेर गए । झोला भिरेकी, क्यानभास जुत्ता लगाएकी, गहिरा आँखा भएकी, लिखुरी मेरी दिदीको त्यही अन्तिम सम्झना बाहेक उसको आगमनको पुनरावृत्ति हाम्रो जीवनमा अहँ फेरि कहिलै भएन । उसको र मेरो बिचमा कति अन्जान पहाडहरु, नदी जंघार र बाटोहरु थिए होलान ? वा कति कोश, कति माइल लामो दुरी टाढा पुगेकी होली दिदी ? सोच्दा सोच्दै म अत्तालिन पुग्थेँ कि यी सम्पूर्ण भौगोलिक दुरीहरु भन्दा पनि धेरै पर कहिले नफर्किने अज्ञात संसारमा पुगीसकी उ ।

मखमली र सयपत्री फुल्न थाले पछि, घरघरमा हरेक बर्षको तिहार दिपावलीको उज्यालो रङ्गले रङ्गिन थालेपछि मलाइ चिच्याई चिच्याई सोध्न मन लाग्छ - कहाँ गइस दिदी ?





कृष्णपक्ष
इजरायल
http://blog.krishnathapa.com

0 comments:

Post a Comment

 
Top