Menu


.

डा. राजेन्द्र भद्रा

दोस्रो पटक गर्भवती भएकोमा २३ वर्षीया इश्वरीलाई खुसी त लागेको छ तर पहिलो गर्भ तुहिएकोले उनलाई फेरि गर्भ तुहिने हो कि भन्ने त्रास पनि त्यत्तिकै छ। पहिलो गर्भ तुहिएपछि स्त्रीरोग विशेषज्ञबाट उपचार गराउँदा यौनरोगको कारणले गर्भ तुहिएको जानकारी पाएकोले उपचार गरे पनि त्यसको तुस अझै बाँकी छ कि भन्ने डर उनलाई लागको छ।


गर्भावस्था आफैं नै विशेष अवस्था हो र त्यसमा स्वाभाविक रुपमा धेरै असजिलाहरू आउन सक्छन्। बच्चा तुहिएको वा खेर गएको अनुभव कतिपय महिलाले गर्नुपरेको हुन्छ र यो आफैंमा एक आघातपूर्ण घटना हो। यसका अनेक कारण हुन सक्छन्। यौनरोगका कारण गर्भ तुहिन सक्छ तर कतिपयलाई यसबारे थाहै हुँदैन। त्यसमा पनि बच्न सकिने यौनरोग लागेर गर्भे शिशु तुहिरहेको हुन्छ, जुन दुःखपूर्ण कुरा हो।

पुरुषहरूको तुलनामा यौनरोगको असर महिलाले बढी खेप्नुपर्ने हुन्छ। प्रतिजैविक (antibiotic) औषधिको विकास र प्रयोगमा व्यापकता आएपछि एचआईभीबाहेक अन्य संक्रमणले पुरुषमा गम्भीर असर पार्ने क्रम घटेको देखिन्छ। कतिपय स्थितिमा प्रभावकारी उपाय उपलब्ध भए पनि सामाजिक, शैक्षिक अनि आर्थिक साथै लै·कि असमानताका कारणले महिलाले यसको भार निकै बोक्नुपरेको पाइन्छ।

यौनरोग भन्नाले सामान्यतया यौनसम्पर्कको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा र्सर्ने रोगहरू वा संक्रमणलाई जनाउँछ। यौनरोगको संक्रमण यौन वा प्रजनन अंगमा मात्र सीमित नभएर शरीरको अन्य भागमा पनि भएको हुन सक्छ। सामान्य अवस्थामा गर्भ रहनलाई र यौनरोग सर्नको लागि पनि यौनसम्पर्क हुनुपर्छ। त्यसैले गर्भावस्थामा यौनरोग लाग्ने सम्भावना हुन्छ। यौनरोग भएका व्यक्तिसँग यौनसम्पर्क गर्दा यौनरोग र्सछ। त्यसदेखि बाहेक अन्य बेलामा जस्तै- गर्भावस्थामा विभिन्न किसिमका यौनरोग लाग्न सक्छन्। धातुरोग -गोनोरिया), क्लामाइडिया, भिरिंगी, प्रजनन अंगका हर्पिस वा मुसा अनि ट्राइकोमोनासदेखि एचआईभीसम्मका संक्रमण गर्भावस्थामा हुन सक्छन्।

गम्भीर असर पार्ने यौनरोग
यौनरोगले गर्भ रहेकी वा नरहेकी दुवैलाई असर पार्छ। कतिपय स्थितिमा गर्भावस्थाको असजिलोपनलाई यसले झनै खराब बनाइदिन सक्छ। यसका साथै यौनरोगको असर शिशुमा पनि पर्न सक्छ र कतिपय स्थितिमा गम्भीर प्रकृतिको असर पनि पर्न सक्छ। बच्चाहरूमा हुने एचआईभी प्रमुख रुपमा आमाबाट सरेको दखिएको छ। गर्भवती महिलालाई लागेका सबै रोग गर्भे शिशुमा र्सर्दैन। सालले धेरै संक्रमणहरूलाई बच्चामा सर्न नदिई जोगाउँछ। तर केही संक्रमणहरू भने सालको छेकबारलाई पनि छिचोलेर शिशुमा संक्रमण गर्न पुग्छन्।
गर्भवती हुँदा सबै संक्रमणबाट बच्ने प्रयास गरिए पनि सधैँ यो सम्भव हुँदैन। संक्रमणको प्रभाव आमा वा बच्चामा कम गर्न भने सकिन्छ। कतिपय संक्रमणहरू रगतको परीक्षण गरेर थाहा पाउन सकिन्छ। आफैंलै गर्न सकिने सरसफाइमा ध्यान दिँदा धेरै संक्रमणबाट बच्न सकिन्छ तर यौनरोगहरूबाट बच्न भने सुरक्षित यौनसम्पर्क गर्ने बानी हुनुपर्छ।

गर्भावस्थामा यौनरोग लाग्दा पाठेघरको संक्रमण, गर्भ तुहिने, समय नै नपुगी बच्चा जन्मनेजस्ता जोखिम बढी हुन सक्छन्। कुनै एक किसिमको यौनरोग छ भने अर्को लाग्ने सम्भावनालाई पनि नकार्न सकिन्न। गर्भावस्थाभन्दा पहिले वा पछि यदि यौनरोगलाई राम्ररी उपचार गरिएको छैन भने जटिलता उत्पन्न भई डिम्बवाहिनी नली नै साँगुरो हुन सक्छ, जसले पाठेघरभन्दा बाहिर नै गर्भ रहने सम्भावनालाई बढाउँछ। धेरै साँगुरो वा बन्द नै भएमा बाँझोपन गराउन सक्छ।

यौनरोग लागेको थाहा पाउने उपाय
नेपालमा गर्भावस्थामा नियमित रुपमा गर्भजाँच गराउने र त्यसको गुणस्तरियता अझै पनि न्यून नै छ। राम्ररी गर्भपरीक्षण गरिने स्थानमा यौनरोग लाग्ने सम्भावना भए/नभएको सोधखोज गरिन्छ र केही हदसम्म त परीक्षण पनि गरिन्छ। तर आफू बच्नको लागि आफ्नो वा आफ्नो यौनसाथी वा श्रीमान्को एकभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क हुने गरेको छ र सुरक्षाका उपाय अपनाइँदैन भने जोखिम बढी हुन्छ। त्यसैले यस्तो संक्रमण छ वा छैन, खोजिनीति र परीक्षण गर्नुपर्छ।

गर्भपरीक्षणको बेलामा गर्भावस्थालाई जोखिममा पार्ने सबै नै संक्रमणका परीक्षणहरू सामान्यतया गरिंदैन, त्यसैले आफूलाई कुनै शंका छ भने त्यसबारे सोधखोज गर्नुपर्छ। तत्काल कुनै रोग छ जस्तो नलागे पनि पहिले केही त्यस्तो रोग लागेको भए चिकित्सकलाई जानकारी दिनुपर्छ। किनकि केही संक्रमणहरू सुसुप्त अवस्थामा रहेका हुन्छन्।

यौनरोगको प्रकृति हेरेर लक्षणहरू फरक-फरक हुन सक्छन्। यौना·मा घाउ आउनु, अस्वाभाविक योनिद्राव हुनु, तल्लो पेट दुःख्नुजस्ता लक्षणहरू हुन सक्छन्। योनिद्रावमा केही परिवर्तन स्वाभाविक रुपमा नै गर्भावस्थामा आउन सक्छ भने तल्लो पेट दुःख्ने कुरा पनि गर्भावस्थामा गर्भ रहेकै कारणले हुन सक्छ।
यौनरोगको प्रकृति र अवस्था हेरी यौनसम्पर्क गर्दा दुख्ने, रगत आउने, पिसाब फेर्दा पोल्ने वा ज्वरो आउनेजस्ता लक्षण हुन सक्छन्। अर्कोतिर कतिपय यौनरोगले सशक्त रुपमा आक्रमण गरे पनि कुनै लक्षण नै नदेखिएको हुन सक्छ। कतिपय यौनरोगका लक्षणहरु यौना·को वरिपरि केन्द्रित पनि हुँदैनन्।

एचआईभीको संक्रमण हुँदा देखिने ज्वरो आउने वा शरीरमा गिर्खा आउने कुराले सीधै यौनरोग लागेको शंका गर्न कतिलाई गाह्रो हुन्छ भने कमलपित्त बी -हेपाटाइटिस बी)को संक्रमण हुँदा ज्वरो आउने, वाकवाकी लाग्ने, थकाइ लाग्ने अनि आँखा वा छाला पहेँलिने कुरालाई पनि हत्तपत्त कसैले यौनरोग भनेर सुरुमा शंका गर्दैन। एचआईभी वा हेपाटाइटिस बी यौनसम्पर्कदेखि बाहेक अन्य तरिकाले पनि सर्ने गर्छ।

यौनरोगबाट बच्न सकिन्छ
यौनरोगबाट बच्ने सर्वोत्तम उपाय भनेको कुनै पनि प्रकारको यौनरोग नलागेको एक जना व्यक्तिसँग मात्र यौनसम्पर्क गर्नु हो। आफूलाई वा आफ्नो यौनसाथी वा श्रीमान्लाई यौनरोग लागेको शंका छ भने त्यसको राम्रो उपचार नगराएसम्म त्यस्ता व्यक्तिसँग यौनसम्पर्क राख्न हुँदैन। यौनसम्पर्क गर्नुपर्ने स्थितिमा प्रत्येक पल्ट कण्डमको प्रयोग गर्नुपर्छ। यौनरोग लाग्ने निकै नै जोखिम छ वा घरसँगै बस्ने कुनै सदस्यलाई कमलपित्त बी -हेपाटाइटिस बी) छ भने त्यसविरुद्धको खोप लगाउनुपर्छ।

गर्भावस्थामा यौनरोगको उपचार

गर्भावस्थामा पनि यौनरोग लागेमा धेरैजसो स्थितिमा उपचार गर्न सकिन्छ। विशेष गरेर भाइरसका संक्रमणलाई निको नै हुने गरेर उपचार गर्न सकिन्न। गर्भावस्थामा कतिपय औषधि खाँदा गर्भमा रहेको शिशुलाई नकारात्मक असर गर्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ। त्यसको लागि चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सल्लाहमा गर्भे शिशुलाई कुनै असर नगर्ने किसिमका औषधिहरू प्रयोग गर्नुपर्छ। कतिपय उपचार वा व्यवस्थापन रोगलाई निको पार्ने भन्दा पनि बच्चालाई सर्न नदिने किसिमका हुन्छन्। यससम्बन्धमा अघिल्लो पृष्ठको तालिकामा थप स्पस्ट पारिएको छ

यौनसम्पर्क मानवजीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। पारिवारिक जीवनको मेरुदण्डको रुपमा यौनसम्पर्क रहेको हुन्छ। सन्तानको जन्म नै यौनसम्पर्कबाट सुरुआत भएको हुन्छ। कतिपयलाई गर्भावस्थाको बेलामा यौनसम्पर्कबाट परहेज गर्नुपर्छ भन्ने लागेको पाइन्छ तर त्यो सत्य होइन। स्वस्थ अवस्थामा गर्भावस्थामा यौनसम्पर्कको आनन्द उठाउन सकिन्छ। तर यौनसाथी वा श्रीमान्-श्रीमतीमध्ये कसैलाई यौनरोग लागेको छ भने विशेष सावधानी अपनाउनुपर्छ। केही समय यौनसम्पर्कमा परहेज गरी यौनरोगको राम्ररी उपचार गरेर निको पार्नुपर्छ।

कतिपय गर्भपरीक्षण गर्ने केन्द्र वा स्थानमा यौनसम्बन्ध र यौनरोगका बारेमा खुलेर कुरा गर्ने वातावरण हुँदैन। त्यस्तो गोपनीय वातावरणको व्यवस्था गर्ने दायित्व स्वास्थ्य सेवा दिने संस्था वा व्यक्तिको हो भने गोपनीय वातावरणमा परीक्षण र कुराकानी गर्न पाउनु कुनै पनि महिलाको अधिकार हो। कुनै पनि महिलाले यसको माग गर्नुपर्छ भने अर्कोतिर यौनसम्बन्धी कुरा स्वास्थ्यकर्मी वा चिकित्सकलाई सोध्न हिचकिचाउनु हुँदैन। सानो शंकोचले आफू र सन्तानलाई दीर्घकालीन असर पर्न सक्छ।
गर्भावस्थामा हुने यौनरोग रोकथामका लागि स्वास्थ्य संस्थाले गर्नुपर्ने कार्यहरु

कुनै यौनरोग वा प्रजनन अंगको संक्रमण छ/छैन र पहिले स्वतः गर्भपतन वा समय नपुगी प्रस्रव भएको छ/छैन, लेखाजोखा गरी सोधखोज गर्ने।

भिरिंगी छ/छैन, परीक्षण गरी उपचार गर्ने, साथै यौनसाथी -श्रीमान्)को उपचार गर्ने।
गर्भ तुहिएको वा समयभन्दा पहिले बच्चा जन्मेको भेटिए ब्याक्टेरियल भ्याजिनोसिस तथा ट्राइकोमोनियासिसको परीक्षण गर्ने।
एचआईभी संक्रमणका बारेमा परामर्श गरी त्यसको परीक्षण गर्ने। एचआईभी भएको भेटिएमा उपयुक्त सेवाकेन्द्रमा प्रेषण गर्ने।
कसरी यौन तथा प्रजनन अंगको संक्रमणबाट बच्ने र स्वस्थ गर्भावस्था अनि प्रजनन क्षमतालाई सुरक्षित राख्ने भनेर गर्भवती तथा उनको यौनसाथीसँग छलफल गर्ने।
बच्चाको जन्म योजना, त्यसको तयारी र बच्चा जन्मेपछिको परिवार नियोजनको बारेमा छलफल गर्ने।

0 comments:

Post a Comment

 
Top