Menu


.

बदलिँदो मौसमले हाम्रो सौन्दर्यमा नकारात्मक असर पारिरहेको हुन्छ जहाँ मौसमलाई चिनेर आफ्नो सौन्दर्य जोगाउनु आवश्यक हुन्छ । जाडोमा चिसो हावा चल्ने भएकाले त्यसको सीधा असरस्वरूप हाम्रो शरीरको छाला सुख्खा एवं फुस्रो हुनुका साथै छाला फुट्ने जस्ता समस्या देखापर्छन् । यसको कारण के हो भने जाडो मौसममा हाम्रो छालामुनिको मासुले कम मात्रामा चिल्लो छोड्छ र त्यसलाई पनि बाहिरको चिसो र सुख्खा हावाले सोसिदिन्छ जसका कारण छालामा चिल्लोको मात्रा अत्यन्त कम भएर छाला सुख्खा र फुस्रो हुने, फुट्ने तथा छिट्टै चाउरी पर्ने समस्याहरू आउन सक्छन् । त्यसैले जाडो मौसममा कसरी आफ्नो सौन्दर्यको हेरविचार गर्ने भन्ने विषयमा केही कुरा जानिराख्नुपर्छ ।

जाडो मौसममा साबुनको प्रयोग कम गर्नुपर्छ । साबुनले छालालाई सुख्खा बनाउनुका साथै त्यसको चमक पनि कम गरिदिन्छ । त्यसैले साबुनको सट्टा क्लिजिङ मिल्क वा मिल्क क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । घरेलु उपाय अपनाउनुपरे कागतीको रसमा थोरै मात्रामा बेसार मिसाएर लगाउन सकिन्छ ।

छालालाई सुट गर्ने किसिमको मोस्चराइजर घाँटीदेखि अनुहारसम्म लगाउँदा छाला नरम हुनुका साथै सुख्खा हुने, फुस्रो देखिने तथा फुट्ने समस्याबाट जोगिनुका साथै छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।

नुहाउनुअघि जैतुन वा नरिवलको तेलमा गुलाबजल मिसाएर १० मिनेटजति शरीरमा मालिस गरी नुहाउने, यदि त्यसो गर्न सकिएन भने पानीमा जैतुन वा ग्लिसरिन ३-४ थोपा मिसाएर नुहाउन सकिन्छ ।

यदि छाला धेरै नै सुख्खा छ भने नुहाइसकेपछि एक गिलास मनतातो पानीमा ५-६ थोपा जैतुन वा नरिवलको तेल मिसाएर शरीरमा लगाउने अनि नरम तौलियाले पुछ्ने ।

जाडो मौसममा सुत्नुअघि मनतातो पानीले अनुहार र घाँटी पखाल्ने । त्यसपछि क्लिजिङ मिल्कले २-३ मिनेट राम्रोसँग मसाज गर्ने र पखाल्ने अनि मनतातो पानीमा भिजाइएको नरम तौलिया निचोरेर त्यसले हल्कासँग अनुहार पुछ्ने । त्यसपछि नाइट क्रिम वा कोल्ड क्रिम लगाउने वा स्किन टोनरमा थोरै बदामको तेल मिसाएर ४-५ मिनेट मालिस गर्ने । यसबाट छाला नरम तथा चम्किलो हुन्छ ।

घरमै फेसप्याक बनाउनुपरे मसुरोको दाललाई दहीमा भिजाउने र राम्रोसँग फुलेपछि त्यसलाई पिसेर लेप बनाउने । त्यसमा दूधको तर वा मख्खन मिसाई अनुहार एवं घाँटीमा लगाउँदा अनुहार सुन्दर तथा चम्किलो हुन्छ ।

हातखुट्टा ः जाडो महिनामा अनुहारका साथै हातखुट्टाको पनि राम्रो हेरविचार गर्नुपर्छ । यसका लागि घरेलु उपाय पनि अपनाउन सकिन्छ । दूध वा दहीको तरले हातखुट्टा मालिस गर्ने । यदि हातखुट्टा चिलाउँछ वा बढी सुख्खा र फुस्रो भएको छ भने मनतातो पानीमा कागतीको रस र अलिकति ग्लिसरिन मिसाएर धुने । त्यसपछि जैतुन वा नरिवलको तेलले हल्का मालिस गर्ने अनि सुत्नुअघि मनतातो पानीले हातखुट्टा धोएर कोल्ड क्रिम लगाउने ।

केश ः जाडो महिनामा केशमा पनि अनकौं समस्या देखापर्छन् । यतिबेला केश झर्ने, बढी सुख्खा भएर झुर्रिने, टुक्रिने, हाँगा पलाउने आदि समस्या हुन्छन् । यसका लागि शुद्ध तोरी, जैतुन, अमला वा नरिवलको तेल नुहाउनुअघि केशको जरासम्म पुग्ने गरी लगाउने । यदि केश धेरै झरेको वा टुक्रिएको छ भने हेयर ग्रोथ तेल केशको जराजरामा लगाएर १० मिनेट मालिस गर्ने । त्यसपछि केशलाई १०-१५ मिनेटजति बाफ दिने । यदि बाफ लिन सम्भव छैन भने तातोपानीमा भिजाइएको तौलियालाई निचोरेर केश छोपिदिने । यो विधि ४-५ पटक अपनाउँदा टाउकोमा भएको केशका रोमछिद्र खुल्छन् र केशको जरा बलियो हुनुका साथै केश र्झन र टुक्रिनबाट बच्छ अनि केशमा चमक पनि आउँछ ।

आँखा ः यो मौसममा चिसो हावा र बढी सुख्खापनका कारण आँखाबाट बढी मात्रामा पानी बग्ने, आँखा पूरा नखोलिने आँखा सुख्खा भएका कारण कुना-कुनामा खुम्चिएर चाउरिएको जस्तो हुनुका साथै आँखाको वरिपरिको भागमा कालो दागजस्तो देखिन्छ । यसबाट बच्न साँझ सधै मनतातो पानीले आँखा धुने, आँखाको वरिपरिको भागमा आइक्रिम वा लेनोलिन भएको क्रिम लगाएर १-२ मिनेट मसाज गर्नुपर्छ ।

खानेकुराः यो मौसममा पानी कम पिइने भएकाले सागपात र फलफूल बढी मात्रामा खानुपर्छ । यसबाट भिटामिनका साथै केही हदसम्म पानीको मात्रा पनि पूरा हुन्छ । यो मौसममा अण्डा र चिल्लो बोसोयुक्त खानेकुरा खानाले छालामा कमी भएको चिल्लोको मात्रा पूरा गर्न केही हदसम्म मद्दत मिल्छ ।

नारी

0 comments:

Post a Comment

 
Top