Menu


.



सोलुखुम्बु । जुवु निवासी झाँक्री सेते तामाङलाई आफैँले झारफुक गर्दै गरेका बिरामीले खुकुरी प्रहार गरेका छन् ।

पैँतालीस वर्षीय झाँक्रीले मुक्ली–१ रन्देपु निवासी तुलसा बस्नेतलाई उपचार गर्दै गर्दा बिरामीद्वारा नै खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट घाइते बनेका झाँक्री तामाङको जुवुस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट तामाङको टाउकोमा चोट लागेको छ ।

झाँक्रीमाथि खुकुरी प्रहार गर्ने बिरामी तुलसाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । बिरामी परेकी तुलसा पनि केही महिनाअघिदेखि शरीरमा देवता चढेको भन्दै काम्न थालेको र झाँक्री तामाङले झारफुक गर्दैगर्दा झारफुकका लागि प्रयोग गरिएको खुकुरीले झाँक्रीमाथि नै प्रहार गरेको बताइएको छ ।

मङ्गलबार राति झाँक्रीमाथि खुकुरी प्रहार भएपछि झाँक्री राति नै भागेर घर गएका थिए । सदरमुकामबाट एक दिन टाढा रहेकाले प्रहरीले बिहीबार साँझमात्र खुकुरी प्रहार गर्ने तुलसालाई सदरमुकाम ल्याएको हो ।

तर बिरामी तुलसाको स्वास्थ्य अवस्था खराब रहेकाले उपचारका लागि फाप्लु अस्पताल भर्ना गरिएको छ । खुकुरी प्रहारबाट घाइते झाँक्री तामाङको पनि स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले बताउनुभयो । रासस

0 comments:

Post a Comment

 
Top