Menu


.



अञ्जली रम्तेल 
पढाइले उनी स्नातकोत्तर अध्ययनरत हुन्, उनलाई महिलामाथि हुने सबै प्रकारका हिंसाबारे राम्रोसँग जानकारी छ। तर, उनी स्वयम् आफूमाथि भइरहेको हिंसालाई कसरी उजागर गर्ने भन्नेबारे भने अझै स्पष्ट हुन सकेकी छैनन्। उनी हुन्– चितवनकी ३० वर्षीया देवी पौडेल, आमाबाबुको रोजाइमा आफैँले समेत हेरेर ०६२ सालमा उनको विवाह भएको थियो। उनी भन्छिन्, ‘मलाई हेर्न आउँदा जाँडरक्सी नखाने र व्रत परेकाले पानी र फलफूल मात्र खाने भनी म र मेरो परिवारलाई प्रभावित पारिएको थियो। तर, त्यो सब देखावटी मात्र रहेछ।’

जीवन सोचेजस्तो नहँुदोरहेछ भन्दै उनी भन्छिन्, ‘बिहेको सुरुवातको केही समय निकै रमाइलो र माया गरेर बिताएकी थिएँ, देख्नेले पनि प्रेमविवाह हो भन्ने गर्थे। तर, केही महिनापछि नै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो, घर ढिलो र रक्सी खाएर आउने गर्न थालेपछि भने उनको असली रूप देखिन थाल्यो। सधैँ रक्सी खाएर आउन थालेपछि किन यसरी रक्सी खानुहुन्छ भनेर सोध्दा तेरो कमाइ खाएको हो र भन्दै पिट्नसमेत थाले।’ लोग्नेले पिटे पनि माया गर्ने त फेरि लोग्ने नै हो नि भनेर त्यतिबेला आफूले सहेको पनि उनले बताइन्।
शारीरिक र मानसिक हिंसाकै बीच उनी गर्भवती बनिन्। छिट्टै सन्तान जन्माउने इच्छा नभए पनि त्यसबाट उनी त्यति धेरै दुःखी भने भइनन् र आफ्नो पढाइलाई निरन्तरता दिइनै रहिन्। बच्चा जन्मिसकेपछि पनि उनीमाथि हिंसा हुन छाडेको थिएन। झन् उनलाई मानसिक रोगीको संज्ञा दिन थालेका थिए उनका श्रीमान्ले। प्रत्येकपटकको झगडामा तँ पागल मेरो जीवनबाट हट्, सम्बन्धविच्छेद गर्छु भन्नेजस्ता कुरा गर्न थालेको उनले बताइन्।

आफूूबीचको सम्बन्ध पक्कै पनि ठीक हुन्छ भन्दै करिब चार वर्षसम्म उनले श्रीमान्को यातनालाई सहेरै बसिन्। बिस्तारै उनीमाथिको हिंसा बढ्न थालेको थियो। आफू बाहिर जाँदा श्रीमान्ले कोठामा अर्कै केटीसमेत ल्याउने र आफूमाथि मरणासन्न हुनेगरी कुटपिट हुन थालेपछि भने असैह्य भएर उनले प्रहरी महिला सेलमा गएर न्याय मागिन्। तर, त्यहाँबाट पनि उनले न्याय भने पाउन सकिनन्। पछि श्रीमान् कोठामा नै आउन छाडेपछि भने छोराको शिक्षादीक्षा सम्पूर्ण आफँैले व्यहोर्नुपर्ने भयो। जागिरको खोजी गर्दै उनले छोरालाई हेर्न थालेको भए पनि पुनः श्रीमान्ले उनीबाट छोरासमेत खोसे।

छोराको विद्यालयमा नै गएर श्रीमान्ले छोरालाई लैजाने, आफूसँग भेट्न नदिने र विद्यालयले पनि उनीसँग बच्चालाई भेट्न नदिन थालेपछि प्रहरीकहाँ गइन्। जतिसुकै प्रक्रिया अपनाए पनि उनले मुद्दा हाल्ने नै निर्णय गरिन्। कन्या क्याम्पसमा पढाउने उनका श्रीमान् शंकर ज्ञवाली केही समय पत्नीपीडित भनेर सञ्चारमाध्यममा समेत निकै छाए। सधैँ नयाँ खालको समाचारको खोजीमा रहने मिडियाकर्मीका लागि त्यो समाचार निकै नौलो थियो। सत्यतथ्य खोजी नगरी एकतर्फी रूपमा शंकरको मात्र समाचार आउन थालेपछि भने देवीले पनि त्यसको प्रतिकारका लागि सञ्चारमाध्यम नै रोजिन्। श्रीमान्को आरोपलाई प्रतिकार र आफूलाई न्याय दिलाइदिनका लागि सञ्चारकर्मीको सहायता लिन थालिन्। हाल उनले जिल्ला अदालतमा गालीबेइज्जती, घरेलु हिंसाको मुद्दा हालेकी छिन्। उनी केवल आफ्नो बच्चा आफ्नो साथमा होस् भन्ने चाहना राख्छिन्।

यस्तै स्नातक तहसम्म अध्ययन गरेकी शिवानी गुरुङ पनि घरेलु हिंसाबाट पीडित छिन्। तर, कहाँ गएर के गर्ने भन्नेबारे उनी पनि अलमलमा छिन्। करिब पाँच वर्षअघि विवाहबन्धनमा बाँधिएकी शिवानी पनि पटकपटक घरेलु हिंसामा परेकी भए पनि यसलाई लोग्नेस्वास्नीबीचको झगडा भनेर स्वाभाविक रूपमा लिएकी थिइन्। परिवारको इच्छाविरुद्ध विवाह गरेकी शिवानीको साथमा हाल परिवार पनि छैन। उनी भन्छिन्, ‘परिवारलाई मैले मन पराएको केटा राम्रो लागेन अनि मैले उहाँहरूको इच्छाविरुद्ध विवाह गर्नुपरेको थियो, तर अहिले आएर सोच्छु मेरो परिवार सही थियो र म गलत।’

विवाहको केही समय राम्रैसँग बिताए पनि त्यसपछिको समय भने उनले नसोचेको कुरा हुन थालेको थियो। काठमाडौंकै स्थानीयवासी शिवानीका साथी धेरै थिए। साथीहरूसँग घुमफिर गर्न साह्रै रुचाउने भए पनि विवाहपछि भने साथीसँगको सम्बन्ध अचानक टुटेको थियो। उनले भनिन्, ‘मेरा साथीहरूसँगको घुलमिल श्रीमान्लाई मन पर्दैनथ्यो, साथीहरूको फोन आएमा पनि नउठाऊ भन्नुहुन्थ्यो, मैले ठीकै छ भनेर उहाँको भनाइलाई मान्दै गएँ। साथीहरू, परिवार, आफन्त सबैबाट टाढिँदै गएँ। खाना मीठो चाहिने तर तेल, मसला किन्नलाई समेत पैसा नदिने। केही समयपछि नै गर्भवती भएका कारण मैले काम गर्न पाइनँ। पैसाका लागि उनैसँग हात फैलाउनुपर्ने भएकाले उनले जति दिन्थे त्यतिले नै घरखर्च चलाउनुपर्थ्यो। ममाथि नियन्त्रण बढ्दै जान थाल्यो। म पनि नजानिँदो पाराले नियन्त्रणमा पर्न थालेँ। पछि जब अर्कै केटीसँग उनको सम्बन्ध बढ्यो अनि त मप्रतिको दुर्व्यवहार बढ्न थाल्यो।

अति नै भएपछि भने मैले पनि प्रतिकार गर्न थालेँ। बिस्तारैबिस्तारै मौखिक दुर्व्यवहार मात्र होइन, हात हालाहाल पनि सामान्यझैं हुन थाल्यो। एक दिन मैले पनि उसलाई हात छोडेँ र भने, ‘आजबाट यदि ममाथि हात हालिस् भने पुलिस बोलाउँछु। किन हो थाहा छैन ऊ पुलिस शब्दबाट निकै डराएको थियो। त्यसपछि उसले ममाथि हात त हालेन, तर सधैं मलाई अपशब्द बोल्ने र मेरो चरित्रमाथि नै शङ्का गर्न थाल्यो। छोरी जन्मिएपछि पनि उसको व्यवहारमा परिवर्तन भएन।’

उनले भनिन्, ‘अहिले श्रीमान्सँग एउटै छतमुनि बसे पनि श्रीमान्–श्रीमतीको सम्बन्ध भने हामीबीच छैन। अहिले म आफैँ कमाएर आफ्नो जीवन चलाउँछु, पैसाका लागि उससँग हात फैलाउनुपर्ने अवस्था छैन। छोरीको पढाइ र अन्य खर्च मैले नै गर्छु। सम्बन्धविच्छेदका लागि माइती नेपाललाई गुहारेकी छु। सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ।’

कतिपय मानिस भन्छन्– महिलामाथि हिंसाको कारण अशिक्षा पनि हो। तर, यहाँ त शिक्षितबीच पनि हिंसा त्यत्तिकै छ। आफूमाथि भएको हिंसाबारे बाहिर कुरा ल्याउँदा आफ्नो र परिवारको इज्जत जाने र सामाजिक मर्यादामा समेत आँच आउने डरका कारण उनीहरू आफूले भोगेको पीडालाई बाहिर ल्याउन अग्रसर हुँदैनन्। महिलामाथि हुने हिंसाबारे प्रहरी तथा महिला सेलमा पुग्दा धेरैजसो मुद्दा मेलमिलापमा नै टुङ्गिने गरेका छन्। त्यसैले पनि सम्बन्धविच्छेदका लागि अदालतसम्म थोरै मात्र मुद्दा पुग्ने गरेका छन्। त्यसो त सम्बन्धविच्छेद घरेलु हिंसाको समाधान भने होइन, यसका लागि कानुनको कार्यान्वयन र मानिसको प्रवृत्तिमा सुधार हुनु आवश्यक छ।

0 comments:

Post a Comment

 
Top